शुक्रवार, 29 अप्रैल 2011

अनौठो मित्रताको प्रेमकथा

आज उस्ले अन्तिम पटक आफ्नी आमालाई निहालेर हेर्यो । आँगनको छेबैमा बेडुलाको डालो चपाउँदै  केहीदिन अघिमात्र जन्मेका भाई र बहिनीलाई दुध चुसाउँदै थिई । अनी हेर्यो, उही परमप्रिय सखालाई जस्का आङमा उ उफ्रन्थ्थो र लडिबुडि खेल्ने गर्थ्थो । त्यस पश्चात उस्ले आफ्नो जन्मभूमिको अन्तिम पटक दर्शन गर्यो , जस्ले उसको शरिरमा प्राणवायु भरिदिएको थियो र उ हुनुको अस्तित्वबोध गराएको थियो । एकाएक उ कराउन पुग्यो “ म्याँ म्याँ “ गर्दै । सायद यो आवाजले भन्दो हो आमा आमा .... ।
भर्खरमात्र उसले आमाको पोषिलो दुध चुस्न भ्याएको थियो र उफ्रँदै बारीका कान्लाहरुमा उम्रेका शिरुका कलिला सुईराहरु टिप्न सिक्दै थियो । केहि महिना त भो उ जन्मेको पनि । साँगुरो खोरबाट यसो के बाहिर निस्कन्छ, पाउँछ आफूलाई खुला आकाश मुनि र दौडन थाल्छ आँगन र पींडीहरुमा । जुठेल्नो पनि आँगन कै छेउमा भएकाले सुम्सुम्याउन पुग्छ त्येता पनि । बिचरालाई थाह नै छैन पानीको स्वाद कस्तो हुन्छ भन्ने ! यसैले कोशिष गर्छ जुठेल्नाको पानी पिउने । तर गन्ध उसलाई मन पर्दो रहेनछ र एकाएक उफ्रदै पुग्छ आमाको दुध चुस्न । यिनै दृष्यहरु देखिए मेरा अगाडी जब माथिको तस्बिर खिची सकेपछि केहिबेरको आराम पश्चात पाठो आँगनमा आईपुगेथ्थो। मेरोस्याङजा चौतारीको लागि सामग्रिहरु संकलन गर्ने क्रममा म र दाजु स्याम रेग्मी रत्ने दोभानको स्कुल हुँदै अर्मादी खोलालाई दायाँ किनारमा पार्दे कसेदी गाउँको पाखैपाखो निस्कँदै थियौं । अचानक तिर्खा लाग्न पुग्छ हामीलाई र छिर्छौं नजिकैको एक घरमा। दाईसंग चिनाजान रहेछ त्यसघरका मान्छेहरु संग। सुन्तलाको मौषम भएकाले घरबेटी दिदीले २,४ गेडा सुन्तला पनि टक्राई हालीन । बाहना त पानीको नै थियो तर मनले किन पो मान्थ्थो र ? छ भने चिसै भएपनि महि नै मागौं न भनि महि मागीयो। भैसी ब्याएको भर्खरमात्र ५ दिन भएको रहेछ यसैले महि पार्न सुरु गरेका रहेनछन्। यसैले पानी नै मागें मैले पनि । जाडो याम जतिनै तिर्खा लागे पनि कहाँ पो धेरै पिउन मन लाग्छ र पानी ! स्टिलको एक गिलास पानीले नै तिर्खा मेटियो। केहीबेर गफ गाफ चले उनिहरु संग । म पनि पल्लो गाउँकै भएकाले बुबा आमाको नाम लिएपछि सबै जनाले चिने ।
भित्रबाट एकाएक १८ बर्ष जतीकि केटी हातमा ठुल्ठुला स्टिलका २ गिलास लिएर नमस्कार गर्दै हामी समिपमा आईपुगिन र टक्राईन गिलासहरु । हेरेको लैनो भैसीको बाक्लो तर् सहितको दुध रहेछ । बर्षौं पछि मात्र यस्तो मिठासको अनुभब गरेको थियो जिब्राले पनि । दुधको गिलास रित्ताईसके पछि आँगनको छेउमै रहेको मन्दिरको मुड्कामा अडेस लागेर यसो के बसेको थिएँ, एकाएक मेरा नजरहरु भैंसीको गोठतिर सोझिएछन् । हेर्छु त विस्वासै गर्न गारो । गोजीमा क्यामरा बोकेको थिएँ । भट्टाभट खिच्न थालें त्यो अनौठो दृष्य । 'उ आरामले सुति रहेको थियो ',उसको  प्रिय सखाको  पिठ्युँमा । उठाउन मन लागेन र हेरि बसें ,यस्तै १० मिनेट सम्म । मनमा धेरै कुराहरु खेल्न थाले त्यो अनौठो प्रेम र मित्रता देख्दा । सोधें “सधैं यस्तै हुन् यिनीहरु कि आज मात्र हो ?” जबाफ आयो “ जब यो पाठो जन्म्यो र हिंड्न सक्ने भयो उस्ले आफ्नी आमाको दुध खाईसकेपछि आराम गर्न यसको नजिक पुग्छ, सायद यस्ले पनि उस्को भाषा बुझ्दो हो र उ पनि बसिदिन्छ पाठाको लागि ,खोई कुरा बुझ्नै गारो छ”। “यिनीहरुको क्रियाकलाप यस्तै यस्तै चलिरहेको छ।“ यिनै शब्द थिए उनले भनेका हामीलाई । मेरो मन फेरी बिचलित हुन पुग्छ र भविष्यका कहालीलाग्दा दृष्यहरु सम्झेर अत्तालिन पुग्छु ।
देख्छु, पाठाको उमेर १ बर्ष कटिसकेछ । मीठा र स्वादिष्ट बारीका घाँसहरु खाँदा खाँदै उ अब पूर्ण जवान भै सकेछ । साना तिना बारीका डिलमा भएका टोटे र बेडुलोका रुखहरुमा उ आँफै चढ्छ र पातहरु तान्दै रमाउने गर्छ । कति पटक त उ यसरी तानिंदा कान्लाहरुबाट लडेको पनि छ तर उस्लाई यो रमाईलो लाग्छ । कृषि संस्थाले बाख्रा पालनको लागि गाउँभरि योजना ल्याएकाले यो बर्ष त गाउँभरिनै उस्का सहपाठीहरु निकै बढेका छन् । आफ्नो मत्त यौबनलाई कता पौखौं भन्ने उस्लाई कुनै चिन्ता नै छैन । जता पनि बरालिन्छ  र जोदा साँढे झैं कसैलाई टेर्दैन र सिंगौरी खेल्छ जो संग पनि । यसैक्रममा एकाएक उस्को जिवनमा ठुलो परिवर्तन हुन्छ र उ बोकोबाट खसि बनाईन्छ । बिचरा उस्लाई थाहै हुँदैन आफुमा के हुँदै छ भन्ने । आखिर होस पनि कसरि ? भैंसि र उस्को मित्रता अझै टुटेको छैन । जब उस्लाई आराम गर्न मनलाग्छ पुग्छ नजिकै र कोट्याउन थाल्छ उसको उही प्रिय सखालाई ।
जब उ सानो थियो, आफ्नो मित्रको आङमा लडिबुडि खेल्थ्यो र उसको मित्रलाई पनि निकै रमाईलो लाग्थ्थो र कुतकुति हुन्थ्थो भित्र भित्रै । उसका सुकुमार पदचापहरु जब आङमा पर्थे, बर्षौं देखिको आङको चिलाउने पिडा कम हुन्थ्थो र गोठको खामोमा आङ धसार्नु पर्दैनथ्थो । जब उ आङमाथि मस्त निद्रामा हुन्थ्थो 'उस्को सरिरबाट निस्केको न्यानो पनले उसको साथीलाई पनि स्वर्गिय आनन्दको अनुभुति गराउँथ्थो । तर अब त उस्का खुट्टाहरु पनि दरिएका छन र मित्रको आङमा चढ्दा केहि भार परे जस्तो हुन थालेको छ ,तैपनि यसको शरित ठूलो हुनाले कुनै महसुस हुँदैन ।  एकाएक १४ महिनाको आसपास मै पूर्व रत्नेदोभान तिरबाट गोजीभरि पैसाको बिटो बोकी उसको काल पनि आईपुग्छ र मोलमोलाई शुरु गर्छ । कुरा मिलेपछि घाँटीमा डोरोले बाँध्छ र उहि बेडुलाको हाँगो देखाउँदै डोर्याउँछ । म्याँ म्याँ भनि कराउँछ उ, सायद आमा आमा भन्दो हो । आज उस्ले अन्तिमबार आफ्नी आमालाई हेर्यो । आँगनको छेबैमा बेडुलाको डालो चपाउँदै  केहिदिन मात्र अघि जन्मेका उसको भाई र बहीनीलाई दुध चुसाउँदै थिई । अनि हेर्यो गोठमा उहि परम प्रिय सखालाई जस्का आङमा उ उफ्रन्थ्थो र लडिबुडि खेल्ने गर्थ्थो । अनि हेर्यो अन्तिम पटक आफ्नो जन्मभूमिलाई जस्ले उसको शरिरमा प्राणवायु भरिदिएको थियो र उ हुनुको अस्तित्वबोध गराएको थियो ।
दिन पनि अब बिस्तारै बिस्तारै ढल्कँदै थियो । सुदुरपूर्बका  सिंगारकोट, बुढाकोट र मालगिरी पर्वतमालाहरुमा सुर्यका सुनौला किरणहरुको अन्तिम दर्शन गर्यो उसले । उसकी आमालाई यलादीबाट ल्याईएको रहेछ। उसको मावली गाउँमा वझेल परिसकेको थियो तैपनि एकपटक नियालेर हेर्यो , जहाँ उसकी आमा जन्मेकी थिई । पारिपट्टी खहरे, शंखरे डाँडा, तिलडाँडा र मन्साङकोटहरुलाई पनि वझेलले ढाकीसकेको थियो । उ घाँस चपाउँदै र कालको ताल सँग ताल मिलाउँदै हिँडीनै रह्यो । बेडुलाका पातहरु पनि आज उसलाई तितो लागेको छ, तैपनि उ हिंडिदिन्छ खुसी साथ, केहि घण्टाका लागि । जिवनकालका सबै घटनाक्रमहरु याद गर्दै उ आफ्नो अन्तिम गन्तब्यतिर लम्किरहेछ तैपनि थाहा छैन उसलाई गन्तब्य के हो भन्ने ! देख्छ, ताउलो भरि पानी उम्लँदै छ । उसको आगमन पश्चात सबैका अनुहारमा खुसीका रेखाहरु दौडीरहेछन् । केहि क्षेण पश्चात कसैले उसलाई दुई सिङको बिचमा डोरी लगाएर तानी रहेको पाउँछ र पछाडीबाट दुबै खुट्टा समाई रहेको महशुस गर्छ । अरु उस्ले केहि देख्दैन किनकि उस्को मुन्टो झुकेको छ । क्षेण भरमै ‘झट्याक्क’ आवाज आउँछ तर त्यो आबाज उसको कानले सुन्न सक्दैन ।
उता उस्कि प्रियसखा पनि पाँचौं बेत पछि थाक्न पुग्छिन । त्यस पश्चात उनको पनि गर्भाधान हुन सक्दैन र केही समयकालागि थारी नै भएर बस्नु पर्छ । उनलाई पनि त्यसरि नै खोज्दै खोज्दै राम्बाच्छा तिरबाट काल आईपुग्छ र ११५००.०० को बिटो थमाएर कसेदीको पाखै पाखा बगर सम्म ल्याई पुर्याउँछ । त्यसपछि  बडेमानको घनले कन्चटमा हान्छ र बगरमा लडाउँछ । उनीपनि अन्तिम श्वासफेर्ने तरखरमा देखिन्छिन् । आँखाहरु पल्टिन्छन् र मुखबाट रगतको धारा बग्न थाल्छ । केहिबेर पश्चात उन्को पनि प्राण पखेरु उड्न पुग्छ । यसरि यि दुबै निरीह प्राणीहरुको प्राण पखेरु नियतिको फरक फरक कालखण्डमा उडेर कतै सुदुर अन्तरिक्षमा नवीन यात्राका लागि निस्कन्छन् । त्यसपछि यिनीहरु कहाँ जन्म लिन्छन् त्यो थाहा लाग्दैन । तर एउटा कुरा पक्का छ, जो ब्यक्ति या जो प्राणी आफ्नो जिवनकालमा अत्यन्त नजिक छन् या जस्लाई आफ्नो अत्यन्त नजिकको महशुस गरिन्छ, उनिहरु प्रत्येक जन्ममा कुनै न कुनै रुपमा (साथी,सखा,प्रिय,पति,पत्नि,छोरा,छोरी,भाई बहिनी ईत्यादी रुप लिई ) ढिलो या चाँडो अबस्य मिल्न आईपुग्ने गर्छन । आशा छ  यि दुई अबोध प्राणीहरुको जाती, धर्म र संस्कार सबैकुराहरु अलग अलग भएतापनि आफ्नो मित्रताको वास्तविक कथा लिएर समयको कालखण्डमा कतै न कतै फेरीपनि आउने छन् र यिनीहरुको मित्रताको कथा आँधीखोलाका सेरोफेरोहरुमा युगौं युग सम्म गुञ्जिई नै रहने छ ।