शुक्रवार, 29 अप्रैल 2011

मेट्दछ आफ्नो इतिहास जसले मेटिन्छ आफै पनि

इतिहास विषय आफैमा बडो गजबको छ। कतिपयका धारणामा यो भूतकालको फेहरिस्त मात्रै हुन सक्छ, मचाहिँ त्यसमा वर्तमानका लागि शिक्षा र भविष्यका लागि चेतावनीसमेत भेट्टाउँछु। अर्थात्, इतिहास त्यस्तो तराजु साबित हुन सक्छ, जहाँ भूत, वर्तमान र भविष्यत्कालको मापन हुन सक्छ। तर शुष्क इतिहास रटन्तामले हैन, बरु फराकिलो आशयमा।
जस्तो कि पृथ्वीनारायण शाहदेवले काठमाण्डौ उपत्का विजयपश्चात् तत्काल त्यहाँ रहेका कपुचिन पादरीहरूलाई डाँडो कटाउन आदेश दिएका किन होला? कप्तान किनलक र उसका चण्डमुण्डहरू कुनै हालतमा नेपाल छिर्न हुँदैन भन्ने निष्कर्ष निकालियो किन? अझ अगाडि बढेर राजा जयप्रकाश मल्लले अंग्रेजहरूसँग सैन्य सहयोग लिने निर्णय लिनासाथ उनका रैतीहरूमा सुरक्षाभाव बढ्नुको साटो झन् राजा बहिष्कृत अवस्थामा पुगे किन? हाम्रा विद्यार्थीहरूलाई यस्ता प्रश्नहरूमा गहिरिएर पढ्ने अवसर प्राप्त भयो र? अँ हँ, फगत् यसो भयो, उसो भयोको फेहरिस्त रटेर कागजे खोस्टो (सर्टिफिकेट) पाउने र नाक फुलाएर क्वाँक्क पर्ने! यसरी इतिहास पढेर-पढाएर केही हुनेवाला छैन।हामीलाई पढाउने इतिहास वास्तवमा इतिहास नै होइन। यहाँ त इतिहासको नाममा भूतकालको वर्णन मात्र छ। वर्णन इतिहास हुन सक्दैन। इतिहास हुनलाई त्यहाँ त्यस्ता तत्वहरू हुनु पर्छ जसले विगत देखाओस्, वर्तमानका लागि शिक्षा देओस् र भविष्यका लागि दिग्दर्शन गराओस्। हाम्रो देशका राजनीतिज्ञहरूले, अर्थशास्त्रीहरूले, योजनाकारहरूले कहिल्यै पृथ्वीनारायण शाहदेवको ‘दिव्योपदेश’ मनन गरेका छैनन्। त्यो हो हाम्रो इतिहास। चाहे तथाकथित विद्वानहरू एम.ए., पी.एच.डी., डी. लिट्. नै गरून्, तिनले दिव्योपदेश पढेका छैनन्, पृथ्वीनारायणलाई बुझेका छैनन् र जयस्थिति मल्ल र राम शाहलाई चिनेका छैनन् भने त्यो डिग्री जनताको आँखामा छारो हाल्न काम लाग्छ, देश बनाउन हैन।
हाम्रो इतिहास मेटिने गरी हाम्रा विद्यार्थीहरूलाई पढाइँदैछ। तिनलाई थाहा छैन वीर बलभद्र कुँवर किन ‘लाहुरे’ हुनु पर्‍यो? तिनलाई मेसो छैन किन वीर अमरसिंह थापा रगत छादेर मर्नु पर्‍यो? बेलायती साम्राज्यले सारा संसार खाइसक्दा पनि नेपालीलाई कुन नैतिक बलले अपराजित राख्यो? पक्कै हिन्दू अभिमान नै त्यो तत्व थियो भन्ने पनि हाम्रा विद्यार्थीहरूलाई पत्तो छैन। अहिले हामीलाई पढाइँदैन कि खम्पा काण्ड किन मच्चियो र त्यसको पछाडि को थियो? अहिले हामीलाई सुगौली सन्धिको पीडा पढाइँदैन। अहिले हामीलाई किन अरुको विजय अभियान पूरा नभएर पृथ्वीनारायणको एकीकरण अभियान सफल भयो भन्नेसम्म पनि राम्ररी पढाइँदैन। तब के पढाइन्छ त? उही एकोहोरो भूतकालीन वर्णनको खोस्टो ।हाम्रा प्रत्येक पिँढीलाई थाहा हुनु पर्छ पृथ्वीनारायण शाहको योगदान के हो र किन बारम्बार स्मरण गर्नै पर्छ उनलाई भनेर। हाम्रा प्रत्येक नागरिकलाई पढाइनु पर्छ दिव्योपदेश, त्यो पनि अहिलेका पाठ्यपुस्तकझैँ रटाएर होइन कि त्यसका मूलभूत तत्वहरूलाई राम्ररी मनन, चिन्तनको स्तरमा। हामीलाई ज्ञान हुनु पर्दछ किन कपुचिन पादरीहरू र कप्तान किनलकहरू हाम्रा शत्रु थिए? र हामीलाई ज्ञान हुनै पर्छ कि आज यहाँ च्याउझैँ उम्रिएका डलरमुखी एन.जी.ओ., आई.एन.जी.ओ.हरू कति घातक छन् हाम्रा लागि। हाम्रो इतिहासले हामीलाई बताउनु पर्छ कि यहाँ जति आई.एन.एफ., युनाइटेड मिसन टु नेपाल, आल्ड्राजस्ता विदेशी ‘सहायता’ संस्था बढ्दै जान्छन्, उति हामीलाई घाटैघाटा छ र वास्तवमै नेपालको हित चाहने हो भने तिनीहरूलाई आफ्नै देशतिर फर्क भनेर पठाइदिनु पर्छ। नत्र एक दिन यस्तो आउनेछ- हामी हाम्रो इतिहाससँगै आफू पनि मेटिन लागेको थाहा पाएर झसङ्ग हुनेछौँ।