शुक्रवार, 29 अप्रैल 2011

भक्ति-योग

मान्छेले विवेक त्याग्योभने उसको बुद्धिले उसलाई गलत दिशातर्फ निर्देशित गरिदिन्छ र विवेकहीन बुद्धिले बेलगाम छाडा तवरले बुर्कुसी मार्दै कुन बेला कहाँ पुगेर के उपद्रो गर्ने हो -केही पत्तो हुँदैन । प्राचीनतम धार्मिक ग्रन्थ तथा आधुनिक विज्ञान दुबैथरीले मानवलाई प्राणी जगत्को सर्वोच्च स्थानमा राखेका छन् । मानवसँग भएको बुद्धि तथा विवेकले गर्दानै उसले आफूलाई सृष्टिको सर्वश्रेष्ठ प्राणीका रुपमा पाउन सकेको हो । अन्य प्राणीको तुलनामा मान्छेको चेतनाको स्तर सबैभन्दा विकसित भएको मानिन्छ । तर जस्तोकि माथिनै भनियो यदि मान्छेले विवेक त्याग्योभने उसको बुद्धिले उसलाई गलत दिशातर्फ निर्देशित गरिदिन्छ । जस्तोकि आणविक उर्जासँग खेलवाड गर्न सक्नुमा मान्छेको बुद्धि देखिन्छभने हिरोशिमा-नागासाकीमा आणविक बमको त्रासदीले उसको विवेकहीनता छताछुल्ल हुन्छ । मान्छेले मृगलाई पासोमा पारेर मार्न सक्नुमा उसको बुद्धि त झल्किएला; परन्तु विवेकको कसीमा यो राम्रो कार्य भएन -यो त विवेकहीन कार्य हो । बुद्धिको सही उपयोग नगरेर दुरुपयोग गर्दा मान्छेले थुप्रै गल्तीहरु गरेको छ अपराध गरेको छ र परिणाम स्वरुप आफैले पनि दुःख पाएको छ र अरुलाई पनि दुःख दिएको छ । शक्तिको हिसाबले मान्छेभन्दा धेरै गुना शक्तिशाली प्राणीहरु यस सृष्टिमा नभएका होइनन् । तर पनि आफ्नो बुद्धिका आडमा ती सबमाथि रजाइँ गरेको छ मान्छेले । अरु त अरु स्वयं प्रकृतिसँग समेत पौँठेजोरी खेल्ने लालसाले उत्प्रेरित भइदिन्छ मान्छे । आफ्नो बुद्धिको प्रयोग गरेर निरन्तर परिवर्तनशील संसारका निमित्त आफूलाई सुयोग्य साबित गरेर अघि बढिरहेको छ मान्छे । तर विवेकहीनताले आफ्नै छातिमा बज्रमुक्का प्रहार गर्ने पनि यही मान्छेनै हो । संसारका विभिन्न भू-भागमा मान्छेले मान्छेमाथि मच्चाएको िहंस्रक आतङ्क देख्दा स्पष्ट हुन्छ विवेकको अधिनमा नभएको बुद्धिको करामत ।
मान्छेको विवेकलाई ऊभित्रको चेतनालाई ढाकिदिने तत्वहरु अनेक छन् । अनि उसको विवेकलाई जाग्रत् राख्ने उपायहरु पनि नभएका होइनन् । ज्ञानवान् मनुष्यले विवेकहीनताबाट मुक्ति पाउने हुन्छभने यदि ज्ञान-प्राप्तिमा अपूर्णतानै छभनेतापनि स्थापित-नैतिक-मूल्य-मान्यताको अनुशरण गर्ने होभने धेरै हदसम्म विवेकहीनता माथि विजय प्राप्त गर्न सकिन्छ । अझ अगाडी बढ्दा भक्ति-तत्वको कुरा आउँछ । ज्ञानवान् हुनु निश्चयनै राम्रो कुरा हो; तर भक्तियोग सबभन्दा उत्तम हो । भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ । हामीलाई थाहा छकि मानव जीवनको परम लक्ष्य हो- मुक्ति अर्थात् मोक्ष । त्यो मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग ।
बुद्धि तथा ज्ञानको आत्यन्तिक लयमा भक्तिलाई प्रतिष्ठित मानिएको छ । हुनपनि बुद्धि तथा ज्ञानद्वारा हामीले कुनै चीजलाई परिक्षण गर्दा त्यहाँ शङ्का पनि हुन्छ द्वेषभाव पनि हुनसक्छ पूर्वाग्रह पनि हुनसक्छ र त्यही कारणले हामी उक्त चीजसँग झन् झन् टाढिन पनि सक्दछौं । हिरण्यकशिपुसँग बुद्धि तथा ज्ञानको कमी कहाँ थियो र ! ऊसँग बुद्धि ज्ञान साथसाथै बल पनि अत्यधिक थियो; थिएन त विवेक थिएन भक्ति थिएन -जसका कारण ऊ दिन-प्रतिदिन ईश्वरीय तत्वप्रति द्रोही तथा द्वेषी बन्दै गयो र शत्रुताको भावनाले विषाक्त हुँदै गयो । रावण पनि बल बुद्धि ज्ञानले सम्पन्न हुँदाहुँदै पनि विवेकहीनताको रोगले ग्रसित हुनालेनै गलत कार्यमा दत्तचित्त हुन पुगेको थियो । यसबाट स्पष्ट हुन आउँछ कि बुद्धि तथा ज्ञान हुँदैमा भक्ति-तत्व प्राप्त हुन्छ भन्ने कुनै निश्चितता ग्यारेण्टी हुँदो रहेनछ । हुन त ज्ञान तथा भक्ति दुबै हुनु; परमात्मा परब्रह्मको तत्वबोध हुनु र त्यसमा परमभक्ति हुनु -यी दुइटै हुन सके त आहाऽऽ ! तर ज्ञान र भक्तिमध्ये कुनै एउटामात्र रोज्नु परेमा अवश्यमेव भक्तिलाईनै रोज्नु पर्दछ ।
परमात्मासँग आत्माको तद्रुपता नै हो मुक्ति । भक्तियोगले हामीलाई त्यही मुक्ति प्रदान गर्दछ । परमात्मा परब्रह्म यस्तो तत्व होइन जोकि परिक्षण वा जाँच-परखबाट भेटिइहालोस् । प्रयोगशालामा बसेर विज्ञानको विद्यार्थीले अ_िक्सजन खुट्ट्याएजस्तो परिक्षण यो होइन । हाम्रो बुद्धि तथा ज्ञान सीमित छभने परमात्मा परब्रह्म चाहिँ असीमित अपरिमित सर्वव्यापी । सीमित ज्ञानको घेरोलाई असीमित अपरिमित सर्वव्यापी स्तरसम्म विकसित नगरी ज्ञानको माध्यमबाट ब्रह्मतत्व-साक्षात्कार हुँदैन । यता भक्तिको बाटो सहज छ सुगम छ । परमात्मासँग साक्षात्कार हेतु भक्तिनै बहुजनका निमित्त सर्वश्रेष्ठ उपाय हो । भक्ति त यस्तो सम्बन्ध-सूत्र हो जसले गर्दा परमात्मासँग आत्माको तार जोडिन्छ । भक्तिको परम् स्वरुप ुपराभक्तिुमा भक्त परमात्मासँग तद्रुप हुन्छ । भक्त अनन्य प्रेमको आनन्दानुभूतिमा सुखी हुन सक्दछ किनकि भक्तिमा अनन्य प्रेम हुन्छ ।

अधिकांशतः मानिसहरु आफ्नो विवेकको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ -जसको परिणाम मान्छे युद्ध िहंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले भक्तिको ढोकासम्म डोर्याउँछ मान्छेलाई । केबल ढोकासम्म मात्र; त्यसपछि त बुद्धिको आत्यन्तिक लय हुन्छ र भक्तिले जीवलाई पराभक्तितर्फ लैजान्छ र पराभक्तिले मोक्षसम्म पुर्याउँछ ।
भौतिक जगत्मा हेर्दा भक्तिले मानवलाई मानवतावादी विश्व-दृष्टिकोण आत्मसात् गराउँछ । सनातन धर्म दर्शनको महान् देन यसमा निहीत छ । भक्तिको आत्मबोध भएको मान्छेले सबै जीवलाई ईश्वररुप देख्दछ र उसले यसरी सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार भक्तको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ भक्त । भक्ति-योग त मानवताको उच्चतम स्वरुप हो । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरु मानवताका प्रतिमूर्ति हुन् ।

<Photo 1>