मंगलवार, 3 मई 2011

कसारका गेडा र नास्पतीले देखाएको बाटो

म आफूलाई त्यो क्षमतावान ब्यक्ति ठान्दिन जस्ले सहि र सटिक शब्दद्वारा जिवनको सर्बमान्य परिभाषा गर्न सकोस् । जिवनको परिभाषा ब्यक्ति पिच्छे फरक फरक पाईनुले जिवनको अन्गिनत आयामलाई स्पष्ट पारेको हुन्छ । दार्शनिकहरुको मतले पनि यस कुरालाई सहजै स्विकार्छ । उनीहरु भन्छन् “जति संख्यामा मानव, त्यति नै जिवनमा बिबिधता र जति संख्यामा ब्यक्ति त्यति नै अलग संसार” यसकारण कुनै एक ब्यक्ति, समूह या जातिको आधारमा सिंगो जिवनको परिभाषा गर्न नमिल्ने देखिन्छ । यसै प्रसंगमा आनी ले गाएको “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार...” गीतले पनि जिवनको बारेमा धेरै कुराहरु बोलेको पाईन्छ ।

जुनसुकै बिषय र क्षेत्रमा ब्यक्तिगत अनुभबबाट आर्जेको ज्ञान ले नै ह्रदयलाई छुन सक्छ र त्यो नै प्रामाणिक पनि हुने गर्छ । केहि बिद्वानहरु भन्ने गर्छन् “६० बर्षको उमेर पार नगरीकन लेखिएका किताबहरु काँचा र अपरिपक्क हुन्छन् किनकि यस्मा जिवनको पर्याप्त अनुभव हुँदैन ।“  लेखमा दिईएका सन्दर्भ सामग्रिका साथमा आफ्नो पनि अनुभव, अनुभूति र सकेमा उपस्थिति भएन भने ब्यक्त बिचारहरुले जनमानसमा पार्ने प्रभाव न्यून र प्रभाबहिन हुन पुग्छ । एक पटक मैले यस्तै सपना देखें जस्ले मेरो लेखन र अध्यापनको बिषयमा पुन एक पटक सोच्न बाध्य बनायो । “ म अर्मादी खोला तरेर कतै जाँदै थिएँ । बाटो उकालो थियो । केहिबेरको हिँडाई पछी अचानक म मेरै गाउँमा पुगेछु । गाउँमा कसैको बिवाहको आयोजना हुँदै थियो । गाउँका आईमाईहरु सगुनका लागि कसार बटार्र्न ताउलोमा चामलको पिठो भुट्दै थिए । दुईवटा ताउलामा यो भुटिएको थियो र तिनीहरुबाट भुटेर निस्केको पिठोबाट अरु आईमाईहरुले कसार बटार्दै थिए । मेरो दृष्यमा, एउटा ताउलोमा भुटिएको पीठो पाकेको थियो भने अर्को ताउलोमा भुटिएको पीठो काँचै थियो । यि बाट बनेका कसारका डल्लाहरु अलग अलग राखिएका थिए । खाने क्रममा, पहिले मैले काँचो र नपाकेको पीठोबाट वनेका कसारका गेडाहरु खाएँ, जस्को परिणामस्वरुप मलाई त्यो अपाच्य भयो र केहि घण्टा मै पेट गडबढ भई पखाला लाग्न थाल्यो । यस् पश्चात मैले राम्ररी भुटिएको र पाकेका कसारका डल्लाहरु खाएँ, जस्को स्वाद आफैमा उत्कृष्ठ थियो र यस्ले मलाई आत्म सन्तुष्टी दिनुका साथै यो पूर्णरुपमा पाच्य पनि भयो । “ देख्दा यो सपना सामान्य लाग्छ तर मेरालागि यो नै जिवनको ठूलो मार्ग निर्देशन बन्न पुग्यो । यो सपना त्यतिबेला देखेको थिएँ जतिबेला म हौसियर लेखहरु लेख्थें र प्रकाशन गर्न हतारिन्थें । प्रकाशन पश्चात कस्ले कति पढे र कस्ले के कस्ता प्रतिक्रियाहरु दिए भन्ने कुराहरुमा मेरो ध्यान पहिले जाने गर्थ्थो । तर यो बानी आफैमा राम्रो थिएन । यस सपना देखे पश्चात मात्र मैले शब्द चयन, बाक्य विन्यास, सम्बन्धित बिषयमा आफ्नो अध्ययन र अनुभब, पाठकको मनोबिज्ञान , लेखन कला र यसका शैलीहरु ईत्यादीका बारेमा सतर्कता अपनाउन थालें । मेरालागि यो सपना एउटा शंकेत थियो । मेरालागी यसखालको सपना ले भविष्यमा कस्तो फल दिन्छ भन्ने कुराको बैदिक यबं पौराणिक मान्यताको बिषय महत्वपूर्ण थिएन । किनकि मैले देखेका कुनैपनि सपनाहरुलाई म आफ्नै हिसाबले बिष्लेषण गर्थे र यि सबै भविष्य सूचक र फलदायी नै हुने गर्थे । मलाई थाहा थियो, स्वप्नको अवस्थामा मान्छेको शुष्म शरिर जागृत हुने गर्छ र मन तथा बिचारको शक्ति अत्यन्तै प्रबल हुने गर्छ । मान्छेको शुष्म शरिर नै उस्को भौतिक शरिर तथा जिवनको भित्ति हुने हुँदा प्रत्येक सपनाहरुलाई मैले बढी नै महत्व दिने गर्थें । मेरालागि यो सपना पनि कम महत्वपूर्ण थिएन । नभुटिएको पीठोबाट बनेका काँचा कसारका डल्लाहरु मेरा अपरिपक्क बिचारका प्रतिबिम्ब थिए । यसको प्रयोगकर्ता म नै थिएँ, जुन खाँदा स्वयंलाई पाच्य भएको थिएन । भुटिएको र पाकेको पीठोबाट बनेका कसारका डल्लाहरु मेरो परिपक्क बिचारका प्रतिबिम्ब थिए । यस्को प्रयोगकर्ता पनि म नै थिएँ, जस्को स्वाद आफैमा पूर्ण थियो र आत्मसन्तुष्टी मिलेको थियो । यस सपना पश्चात बिबिध बिषयमा मैले लेखेका अनेकन लेखहरु रद्दिको टोकरीमा मिल्काई दिएँ र केहि मात्र काँट छाँट गरि प्रकाशन गरें । भनिन्छ, विश्वका केहि महान आविस्कारहरु स्वप्नको माध्यमबाट भएका छन् र अधिकांश त संयोगले हुन पुगेका छन् । सियोको आविस्कार देखि पृथ्बीको गुरुत्व आकर्षणको सिद्दान्त यस्ता केहि आविस्कारका उदाहरणहरु हुन् । आज, प्रकृतिले मान्छेलाई पूर्ण चैतन्य जीवको रुपमा विकास गरिसकेको छ । जीव बिकासको क्रममा बानर देखि मान्छे सम्म आईपुग्न  हजारौं हजार बर्ष लागेको छ र मात्र हामी आफूलाई मानबको रुपमा उभ्याउन सकेका छौं । आजका जति पनि खोजहरु हाम्रा सामू छन् , ति सबै हाम्रै मेहनत र परिश्रमको प्रतिफल हुन् । यसका लागि मान्छेको भौतिक सत्ता मात्र जिम्मेबार नभै मानब जिवनको भित्तिको रुपमा रहेको अभौतिक सत्ताको पनि उत्तिकै हात रहेको छ । जसरी चेतन मन, अबचेतन मन र पराचेतन मनको स्वरुपलाई बिज्ञानले स्विकारेको छ त्यसैगरि स्थुल सरिर, बास्ना सरिर, शुष्म शरिर देखि सातौं तथा अन्तिम निर्बाण शरिरको स्वरुपलाई पनि तत्वबेत्ताहरु सहर्ष स्विकार्छन् । स्वप्नलाई यिनै शरिर मध्येको तेश्रो शरिरको जागृतिको अवस्थामा देखिने मान्छे भित्रको सोच, ईच्छा तथा कामनाको दृष्य रुप हो भन्दा फरक नपर्ला ! जस्ले मान्छेको वास्तविक स्वरुपको बारेमा बोलिरहेको हुन्छ ।
काँचो र पाकेको पीठोबाट बनेका कसारका गेडा र यसको भोग पश्चातको परिणाम मेरो लेखन यात्राको मार्ग निर्देशक यसकारण बन्यो ताकि म बाट यस्को बिष्लेषण सहि ढंगले गरिएको थियो र यो आफैमा एउटा पूर्णपाठ पनि थियो । परिपक्क र खारिएका बिचारहरु पाकेका कसारका गेडा जस्ता हुने रहेछन् । कुनैपनि लेखमा यसखालका बिचारहरु यसकारण आवस्यक छन् ताकि ति बिचारहरु जुनसुकै परिक्षाको घडीमा पनि खरो उत्रन सकुन् र सबैका लागि पाच्य होउन् । यो ज्ञानले नै लेखकलाई धेरै हद सम्म शतर्क गराएको हुन्छ र उ आफै यसको पहिलो पाठक पनि हुन्छ । यो लेख लेख्नुको तात्पर्य पनि यहि नै हो कि पाठकबर्ग, जो केहि लेख्न र प्रकासन गर्न चाहन्छ, उस्ले मेरो सपनाको मर्मलाई बुझुन् र सतर्कता अपनाउन् । बजारमा आज सयौं मात्रामा यस्ता लेख, किताब र रचनाहरु पाईन्छन् जुन आफैमा अपूर्ण त छँदैछन् साथमा सतहि पनि । कुनैपनि लेख तथा रचना कालजयी तब मात्र बन्छ जस्मा निरन्तरको अभ्यास, अनुसन्धान र बिचारमा परिपक्कता द्वारा सत्यको आवरणले ढाकिन्छ । शब्द आफै बोल्दैन, बोलाउनु पर्छ र त्यसमा प्राणरुपि उर्जाको संचारण समेत गर्नु पर्छ । जस्ले यो कुरालाई बुझेको छ र आत्मसात गरेको छ उ कहिल्यै हार्दैन, हतारिंदैन र बारंबार आफ्नो रचनामा घोत्लिन्छ ताकि जबसम्म उ आफ्नो सिर्जनाबाट आत्मतृप्त हुँदैन । जुन कुरामा आफूलाई ज्ञान छैन त्यसमा नबोल्नु र नलेख्नु नै बेस हुन्छ ।
यसैरात निदको दोश्रो प्रहरमा फेरी मैले अर्को सपना देखें । “म कतै जाँदै थिएँ । बाटोमा नास्पतीको बोट भेटियो । बोटमा लटरम्म नास्पतीका दानाहरु फलेका थिए र यि खानको लागि तयार भैसकेका थिए । अचानक मलाई यो फल खान मन लाग्यो र रुखबाट फल झार्नेकुरा सोच्न थालें । यो सोच्दा नसोच्दै मेरो हातमा धनुषबाँण भएको मैले पाएँ र तत्कालै धनुषद्वारा निशाना साधें । मलाई सानै देखी धनुष बिद्यामा खुबै रुचि थियो । यो सोख पुरा गर्नका लागि बाँसको खपेटामा डोरी बाँधेर, बाँसैको काँड बनाई, आँगनको डिलमा रहेको मेवाको रुखमा ताकि ताकि निशाना साँध्ने गर्थें । मलाई यसपाली सपनामा यो अबसर मिलेको थियो । जब मैले नास्पतीको फलका लागि निशाना साँधें र धनुष चलाएँ, निशाना चुक्यो । यो गर्दा धनुष आवस्यकता भन्दा बढी नुगेको थियो र डोरीमा हुनुपर्ने आवस्यक टंकार थिएन । फेरि मैले प्रयास गरिन । साथमा अरुपनि कोहि थियो र मेरो जिद्दिका कारण मलाई यो अबसर प्रदान गरिएको रहेछ । बाँण हानी सकेपछी जब मलाई निशाना चुकेको आभास भयो तब मेरो होश खुल्यो र किन निशाना चुक्यो ? भन्नेबारेमा स्वप्न मै सोच्न पुगें र यसको जबाफ पनि तत्कालै पाएँ ।“ यो सपना मेरो ब्यापार संग सम्वन्धित थियो न कि मेरो लेखन संग । केहि समय अगाडी देखि बेलायतको एउटा पार्टी संग ठूलै कारोबारको कुरा चल्दै थियो र यो सम्झौता लगभग पक्का पक्की जस्तै भैसकेको थियो । शुरुदेखि नै मैले नेपालको राजनितिक अस्थिरता, श्रमिक समस्याहरु र उत्पादनमा यस्ले पारेको प्रभाब र मूल्य बृद्दि ईत्यादीका बारेमा जस्ताको तस्तै भनिदिएको थिएँ । सामानको उत्पादन पश्चात निकाशी गर्दा दिईएको समयमा २,४ दिन तलमाथि हुन सक्छ भन्ने शर्त पनि मैले राखेको थिएँ । ब्यापारमा धेरैकुराहरु ढाँटेर गरिन्छ , यो कुरा मलाई थाहा छ तर आफ्नो यस्तो बानी नभएकाले सबैकुराहरु पहिले नै प्रष्ट्रयाई कुरा अगाडी बढाउँदा कतिपय सम्झौताहरु अन्तिम अवस्था सम्म आईपुग्दा सफल हुँदैनन् । यस्मा मलाई दुख भने लाग्दैन किनकि यतिबेला “ईश्वरको जो ईच्छा” भन्ने आत्मप्रेरित भावनाले म भित्र  काम गरिरहेको हुन्छ र भागवत गीताको यो स्वलोक पनि सम्झने गर्छु ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ॥
अर्थात, तिम्रो कर्म गर्नुमा नै अधिकार छ, उसको फलमा कदापी छैन । यसकारण तिमी कर्मफलमा नजाउ तथा कर्म नगर्नुमा समेत आशक्ति नबन ।
स्वप्नको माध्यम द्वारा यो सम्झौता सफल नहुने शंकेत त मैले पाईसकेको थिएँ र यस्का बारेमा परिबारमा कुरा समेत गरेको थिएँ । आयातकर्ता संग ब्यावशायिक चिठीपत्र चल्दै गर्दा काम कुराको टुङगो लगाएर अग्रिम भुक्तानीको लागि बैंक खाता समेत दिने काम भैसकेको थियो । यसै समयमा गाउँमा आफन्तको बिहे परेकाले केहि दिनका लागि मलाई गाउँ जानु पर्यो । फर्केर अफिस आउँदा काम कुरो बिग्रिई सकेको थियो र आयातकर्ताले उक्त सम्झौता भंग गरेको सूचना दिएको थियो । यस्को आभास त मलाई स्वप्नबाट भैसकेको थियो जुन माथि नै भनिहाँले । यसैले दुख मानिन । सम्झें, ‘जुन कुरा आफ्नो भाग्यमा छैन त्यो कसै गरेपनि मिल्नेवाला छैन र जुन कुरा भाग्यमा छ त्यसका लागि सानो भन्दा सानो प्रयास नै प्रयाप्त हुन्छ ।‘ गाउँघर तिर एउटा उखान निकै प्रचलनमा रहेको पाईन्छ “भाग्यमा छ भन्दैमा चाल्नामा दुध दुहेर आउँदैन”   । यो कुरा सहि पनि हो । यस्का लागि सहि लगन, मेहनत, कार्य योजना, आत्मविस्वास र बलियो संयन्त्रको जरुरत अवस्य नै चाहिन्छ । मेरो स्वप्नले पनि यहि नै संकेत गरेको थियो । बाटोमा भेटिएको नास्पतीको रुखले आयातकर्तालाई शंकेत गर्थ्थो र त्यसमा लागेको फलले उस्बाट पाईने प्रतिफललाई । म संग भएको कमजोर धनुष र त्यसमा लगाईएको डोरीले, मेरो कमजोर संयन्त्रको शंकेत गर्थ्थो भने फल झार्नका लागि प्रयोग गरिएको धनुषकाँडले आयातकर्ता संग गरिएको कमजोर सम्बादको संकेत गर्थ्थो । धनुष चलाएर फल झार्न नसक्ने मेरो प्रयासले आत्मविश्वासको कमि, अप्रयाप्त अभ्यास र  क्षिण लगनशिलताको संकेत गरिराखेको थियो । कुनैपनि ब्यापारमा सफलता हासिल गर्नका लागि यो सपनाले मलाई दिएको संकेत अत्यन्तै महत्वपूर्ण र ठूलो पाठ थियो जुन भौतिक देहको भित्तिको रुपमा रहेको शुष्म शरिरको शुष्म चेतनद्वारा सांकेतिक बिम्बका रुपमा स्वप्नित थियो ।

मैले माथि नै भनिसकेको छु कि ‘स्वप्न जहिले पनि शुष्म शरिरको जागृति अवस्थामा देखिन्छ र यो भबिष्य सूचक पनि हुने गर्छ ।‘ दृष्टाले यसबाट आत्म निरिक्षण गर्ने अबसर पनि पाउँछ तर यो कुरामा धरैलाई मतलबै हुँदैन । ‘आज मैले यो सपना देखें ,यस्को फल के होला?’ भन्ने मात्र मान्छेले सोच्छ । प्रायजसो मान्छेले सपनाको उल्टो अर्थ लगाउने गरेको पाईन्छ जसबाट उस्लाई दुख शिवाय केहि मिल्दैन । यो कुरा सहि हो कि ‘बिराट प्रकृतिले मानव शरिरको जटिल रचना संगसंगै उस्लाई चाहिनेजति सबै संयन्त्र पूरापूर दिएर पठाएको छ । जहाँ जस्लाई जुन कुराको आवस्यक छ त्यसको पनि उस्ले कुनै न कुनै माध्यम द्वारा प्रबन्ध गरिदिएको छ ।‘ भूतकाल मानबको स्मरणमा ताजा नै छ भने बर्तमानकालको एक पल हरदम उस्को साथमै छ । निकट भविष्यमा घट्न सक्ने कुनैपनि घटनाको शंकेत मानब शरिरमा पहिले नै हुने गर्छ, “ह्रदय केन्द्रमा चेतन माध्यमले आभाशित भएर या शुष्म शरिर जागृतिको अवस्थामा स्वप्नको माध्यम द्वारा ।“ तर यो कुराको हेक्का समेत कसैलाई हुँदैन । यि दिब्य संकेतहरु मान्छे भित्रको लोभ, अभिमान, राग, द्वयस्, काम र गलत बुझाईको लेपले ढाकिएका हुन्छन् । जस्का कारणले बुद्दि मलिन हुनुका साथै ज्ञान र विवेकको समेत अभाब खट्किन जान्छ । यसैले सधैंभर हामी मूढको मूढ नै छौं र संसाररुपी स्वप्नलाई नै वास्तविक ठान्दै त्यसैमा अल्मलिई रहेका छौं ।